वर्तमान गतिविधि
Current Activities
गलेश्वर आश्रम आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवाको संगम बनेको छ। यस आश्रममा धार्मिक परम्पराको गौरव, शैक्षिक यात्राको उज्यालो र समाजसेवाको रथ एकैसाथ दौडिरहेको छ। यही उद्देश्यलाई आत्मसात् गर्दै आश्रमले हाल विविध महत्वपूर्ण कार्यक्रम र क्रियाकलाप सञ्चालन गरिरहेको छ।
# धार्मिक तथा सांस्कृतिक सम्पदाहरू
१.ज्योतिर्लिङ्गेश्वर शिवालय
२.सङ्कल्पेश्वर हनुमान मन्दिर
३.गङ्गा मन्दिर
४.कृष्ण मन्दिर
५.सिद्धेश्वर शिवालय
शैक्षिक तथा सामाजिक सेवा
धर्मसँगै समाज र शिक्षामा समर्पित गलेश्वर आश्रमले विभिन्न सेवा र परियोजनाहरू सञ्चालन गरिरहेको छ।
*स्थायी अन्नक्षेत्र – “अतिथि देवो भव”को मूल मन्त्रलाई आत्मसाथ गर्दै आश्रममा आउने साधु–सन्त, विद्यार्थी, कल्पवासी, भक्तजन र तीर्थयात्रीलाई निःशुल्क भोजन र आवासको सुविधा उपलब्ध छ। हाल एकैपटक ३५० जनासम्म भोजन गर्न सक्ने क्षमता रहेको यो अन्नक्षेत्र दानदाता महानुभावहरूको सहयोग र मुष्टिदान परम्पराले दिगो बनेको छ।
* वेद–वेदाङ्ग संस्कृत विद्यापीठ (गुरुकुल) – वि.सं. २०२३ सालमा सुरु भएको गुरुकुलीय परम्परा अहिले आधुनिक र व्यवस्थित शैक्षिक संस्थामा परिणत भएको छ। यहाँ करिब ५०० विद्यार्थी आवासीय रूपमा बसेर संस्कृतसहित आधुनिक शिक्षा, ज्योतिष, साहित्य, व्याकरण र कम्प्युटर अध्ययन गरिरहेका छन्। नि:शुल्क शिक्षण–प्रणालीमा सञ्चालन भइरहेको यस गुरुकुलले नेपाल संस्कृत विश्वविद्यालयसँग सम्बन्धन लिएर शास्त्री तहसम्मको निःशुल्क शिक्षा पनि प्रदान गर्न थालेको छ।
*धर्मार्थ अस्पताल – “शरीर नै धर्मसाधनाको आधार हो” भन्ने भावनाबाट प्रेरित भएर वि.सं. २०५७ मा १५ शैय्यासहित आत्मानन्द धर्मार्थ अस्पताल स्थापना गरिएको हो। यसको नाम परिवर्तन गरी हाल देवघाट धर्मार्थ अस्पताल राखिइको छ। यहाँ २४ घण्टा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र उपचार सेवा दिइन्छ। असहाय, वृद्ध, विद्यार्थी, साधु–सन्तदेखि तीर्थयात्रीसम्मले यस अस्पतालको लाभ उठाइरहेका छन्।
*जेष्ठ नागरिक विश्रान्ति आश्रम– समाजमा असहाय वृद्ध–वृद्धालाई आश्रय दिने उद्देश्यले सञ्चालन गरिएको यो गृहमा हाल करिब ७५ जना वृद्ध–वृद्धा स्वास्थ्य, भोजन, योग, भजन र आध्यात्मिक अभ्याससहित शान्तिपूर्वक जीवन बिताइरहेका छन्।
*धर्मशाला– पवित्र देवघाट धाममा आउने भक्तजन र तीर्थयात्रीहरूको सहज आवासका लागि आश्रम परिसरमा १००० जनासम्म बस्न सक्ने सुविधा सम्पन्न धर्मशाला सञ्चालनमा छ।
*गौशाला – आस्था र संस्कृतिको प्रतीक गाईको संरक्षण र सेवा गर्ने उद्देश्यले स्थायी गौशाला सञ्चालन भइरहेको छ।
*पुस्तकालय तथा अनुसन्धान केन्द्र – करिब १०,००० पुस्तकसहितको पुस्तकालय अध्ययन–अनुसन्धानमा रुचि राख्ने विद्यार्थी, विद्वान् र साधकका लागि खुला गरिएको छ।
*साधक निवास – ध्यान र साधनामा रमाउन चाहने भक्तजनका लागि सुविधा सम्पन्न साधक भवन निर्माणको योजना अगाडि बढाइएको छ।
*मुष्टिदान कार्यक्रम – गुरुकुल सञ्चालनलाई दिगो बनाउन भक्तजनहरूले मासिक वा वार्षिक सहयोग गर्न सक्ने व्यवस्था छ। “एक विद्यार्थी, एक अभिभावक” अभियानले शिक्षामा सामूहिक सहभागिता बढाएको छ।
*क्रियापुत्री भवन – आफ्ना दिवङ्गत पितृहरूको कर्मकाण्ड सजिलै सम्पन्न गर्न आश्रम परिसरमा सुविधा सम्पन्न भवन सञ्चालनमा छ।
*धार्मिक अनुष्ठानहरू – श्रीमद्भागवत सप्ताह, रुद्राभिषेक, लक्षवर्ति, व्रतबन्ध लगायतका वैदिक–पौराणिक संस्कारहरू नियमित आयोजना गरिन्छन्।
*दैनिक पूजा अक्षयकोष – आश्रमका प्रमुख मन्दिरहरूमा नित्य पूजाआजाका लागि स्थायी अक्षयकोष स्थापना गरिएको छ, जसमा भक्तजनहरूले योगदान दिन सक्ने व्यवस्था गरिएको छ।