वैशाख महिना, कृष्ण पक्ष, चतुर्थी तिथी 
Home / The Ashram / आश्रमका विशेषताहरु / वेद वेदाङ्ग विद्यालयको परिचय तथा सञ्चालन

वेद वेदाङ्ग विद्यालयको परिचय तथा सञ्चालन

वेद  वेदाङ्ग विद्यालयको सङ्क्षिप्त परिचय

            विभिन्न पुराणहरूमा कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगमस्थल, आदिप्रयाग, हरिहर क्षेत्र, देवताहरूको तपोभूमिजस्ता  अनेक नामले देवघाटको वर्णन गरिएको छ । यसै पवित्र पावन क्षेत्रमा वैदिक सनातन धर्मसंस्कृति र संस्कृत वाङ्मयलाई हृदयङ्गम गर्दै वैदिक सनातन धर्मलाई संरक्षण गर्ने उद्देश्यले २०२३ साल पौष २७ गतेका दिन सिद्घयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले श्री वेद वेदाङ्ग विद्यालयको स्थापना गर्नुभयो । गुरुकुलीय शिक्षा पद्धतिलाई अवलम्बन गरी संस्कृत पाठशालाको रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको यो विद्यालय अहिले सार्वजनिक गुठीअन्तर्गत श्री गलेश्वर आश्रमबाट  सञ्चालनमा रहेको छ । 

विद्यालय सञ्चालनको प्रक्रियाः-

            समयको अन्तरालसँगै विद्यालयले विभिन्न अप्ठ्यारा सप्ठ्यारा परिस्थितिहरू पार गर्दै आइरहेको छ । विगतमा विद्यालय सञ्चालन गर्नका निमित्त ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)को अमूल्य योगदान रह्यो । गलेश्वर बाबापश्चात् वहाँका उत्तराधिकारी श्री १००८ स्वामी आशुतोषानन्द (दण्डी स्वामी) तथा श्री १००८ स्वामी परमानन्द सरस्वतीज्यूको छत्रछायाँमा विद्यालयका विभिन्न गतिविधिहरू अघि बढे । २०५३ सालसम्म तत्कालीन संरक्षक श्री १००८ स्वामी परमानन्द सरस्वतीज्यू महाराजले गलेश्वर आश्रम मातहतमा सञ्चालन गर्नुभएको थियो । २०५३ सालमा गलेश्वर आश्रमका वर्तमान पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू महाराजलाई पीठासीन गरिसकेपछि यस विद्यालयको भौतिक एवं शैक्षिक स्वरूप नै परिमार्जन भएको छ । यसलाई सञ्चालनार्थ अक्षयकोषको स्थापना गरी विभिन्न भक्तजन, धर्मानुरागी महानुभावहरूबाट प्राप्त सहयोगबाट निःशुल्क भोजन सुविधा सम्पन्न आवास तथा प्राथमिक औषधोपचारसहित आधुनिक पद्धतिअनुसारको गुरुकुलीय संस्कृत शिक्षा प्रदान भइरहेको छ ।

शैक्षिक अवस्थाः-   

          अस्थायी रूपमै   सञ्चालन भई अनौ॒पचारिक अर्थात् पूर्ण गुरुकुलीय शिक्षण शैलीमा पाठशाला मात्र रहेको यस विद्यालयले २०५८ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट कक्षा ८ सम्मको स्थायी अनुमति प्राप्त गरी कक्षागत विद्यालयीय पद्धतिमा सञ्चालन भयो । वि.सं. २०६३ मा कक्षा ९  र २०६४ सालमा कक्षा १० सम्मको स्थायी अनुमति प्राप्त गरी २०६४ सालबाट S.L.C. परीक्षा बोर्डमा आबद्ध भई विद्यार्थीहरू उत्तीर्ण भएर उच्च शिक्षा हासिल गर्न विभिन्न स्थानहरूमा स्थानान्तरण भएर केही समय यही क्रमले चल्दा विद्यालय सञ्चालन समिति तथा व्यवस्थापन समितिले आफूले कक्षा ६ देखि निःशुल्क भोजन, आवास तथा शिक्षा उपलब्ध गराई उत्पादन गरेको जनशक्तिलाई अन्यत्र पठाउनु पर्दा अप्ठ्यारो भएको महसुस गर्दै उच्च शिक्षा पनि दिनुपर्ने सोच विचार अघि सारेको अवस्थामा नेपाल सरकारको  नियमअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा सञ्चालन गर्न वि.सं २०७५  सालबाट राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध हुने गरी स्थानीय निकायबाट अनुमति लिई कक्षा १२ सम्म संस्कृत व्याकरण, ज्योतिष, साहित्य आदि विषयसहितको आधुनिक शिक्षा पनि निःशुल्क रूपमा करिब २०० जना विद्यार्थीहरूलाई प्रदान गरिएको छ ।

भौतिक संरचनाः-

          करिब दश रोपनीको क्षेत्रफलमा श्री वेद वेदाङ्ग विद्यालय कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको छ । सो स्थानमा तीनवटा भवनमा करिब २६ वटा कोठाहरू रहेका छन् । कार्यालय, कक्षा कोठा, आवास कोठा, पुस्तकालय लगायत शौचालय पनि पर्याप्त नै रहेको छ तर हाल विद्यार्थीको सङ्ख्यामा भएको उल्लेख्य वृद्धि र  विद्यालयले अनुमति प्राप्त गर्न अघि बढेको शास्त्री तहको प्रक्रियालाई पनि मध्यनजर गरी अर्को करिब १५ रोपनी जग्गासहितको स्थानमा सुविधासम्पन्न पुस्तकालय, कम्प्यूटर कक्ष, सभाहल र आवाससमेत व्यवस्थापन हुने गरी भूकम्प प्रतिरोधात्मक विशाल भवन निर्माण भएको छ भने करिब २५ रोपनी जग्गामा खेलमैदानसमेत रहेको छ । ४ तले सो भवनमा ४० वटा कोठाहरू पूर्णरूपमा तयार भइसकेका छन् ।

विद्यार्थी र शिक्षकहरूको विवरणः-

          यस विद्यालय पूर्ण रूपमा निःशुल्क सञ्चालित विद्यालय हो । यहाँ हाल कक्षा ६ देखि शास्त्री सम्म २०२ जना विद्यार्थीहरू अध्ययनरत छन् । अध्यापनार्थ तोकिए अनुसारका शैक्षिक योग्यता हासिल गरेका १९ जना गुरूहरू नियमित अध्यापनरत छन् । विविध अवस्थाका बीचमा पनि विद्यार्थीहरूलार्इ आधुनिक शैलीमा कम्प्युटर शिक्षा, अङ्ग्रेजी शिक्षा, गोष्ठी-संगोष्ठी, संगीत आदि क्षेत्रबाट योग्य बनाउने उद्देश्य राखेको यस विद्यालयले भोलिका दिनमा शास्त्री तथा आचार्य तहसम्मको शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ । यस विद्यालयको स्थापनाकालमा श्री धनपति ज्ञवाली प्रधानाचार्य भएर कार्य सञ्चालन गर्नुभएको थियो । स्थापनाकालदेखि हालसम्मका प्रधानाचार्यहरूको विवरण निम्नानुसार छः-

१. धनपति ज्ञवाली                         २. कृष्णप्रसाद काफ्ले

३. केशवराज शर्मा उपाध्याय             ४. चन्द्रमणि रेग्मी

५. हरिनारायण सापकोटा                  ६. ऋषिराम शर्मा खनाल

७. हरिप्रसाद अधिकारी                   ८. हरिनारायण सापकोटा

९. नारायण घिमिरे                          १०. पद्ममणि लामिछाने

११. माधव अधिकारी                     १२. आनन्दप्रसाद नेपाल

१३. कृष्णप्रसाद लामिछाने                १४. अर्जुन न्यौपाने

१५. कृष्णहरि घिमिरे                       १६.नन्दराज पाण्डेय

१७.डा.स्वामी अमृतानन्द गिरि(२०८०देखि हाल सम्म)

विःसं. २०२३ साल पौष २७ गते गलेश्वर बाबाबाट स्थापना भई धर्म संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्धन गर्न गुरुकुलीय पद्धतिबाट शास्त्री   तहसम्म सञ्चालनमा छ । स्तरोन्नती गर्ने उद्देश्य राखी करिव ३00 जना वटुकहरूको लागि आवश्यक पर्ने आवास, सन्ध्याहल, कक्षा कोठा ,पुस्तकालय समेतको आधुनिक भवन निर्माण गर्न दताहरूलाई अनुरोध गर्दछौं ।

निर्माण कार्यमा रु. २५,०००/- सम्मको रकम शीलालेखमा रहने छ भने कोठा,निर्माण गर्ने दताको तीनपुस्तेसहित संगमरमरमा   अभिलेख राखिने व्यवस्था रहेको छ । धर्म सस्कृति र परम्परालाई निरन्तर रुपमा अभिवृद्धि गर्न चाहने हरेक संस्कृतप्रेमी महानुभावहरूलाई यस विद्यालयलाई सहयोग पुर्‍याई धर्म संस्कृतिमा टेवा पुर्‍याउन हुन अनुरोध गर्दछौ।

                                                           

वेदोखिलो धर्म मूलम् , धर्मो रक्षति रक्षितः
Click here to DONATE 

श्री गलेश्वर आश्रम देवघाटधाम, नेपाल

Quick Links

More Info

Contact Details

Galeshwor Ashram, Devghat Gaupalika 5, Tanahu
nfo@galeshwarashram.org.np galeshwor.ashrama@gmail.com adwaita.nanda@hotmail.com
+977 9845082335 +977 056 500025
© Copyright 2007-2022 Galeshwor Ashram. All Rights Reserved.
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram