सिद्धपुरुष स्वामी श्री हरेराम गिरिजी महाराजले वि.सं. १९२९ मा तत्कालिन श्री ३ जङ्गबहादुर राणासरकारद्वारा लाल मोहोर प्राप्त गरी स्थापना गरेको यो सरस्वती अखडा पर्यटकीय, दर्शनीय एवं धार्मिक स्थलको रूपमा प्रसिद्ध छ । यो स्थान स्वयम्भूनाथ भगवानको विश्वप्रसिद्ध मन्दिरदेखि पश्चिमपट्टि अवस्थित छ ।
यो अखडाको संरक्षण एवं संवर्धन गर्ने क्रममा संस्थापक स्वामी श्री हरेराम गिरिजी महाराज अलौकिक शक्तिद्वारा हरिद्वार प्रस्थान गरेपछि उहाँका शिष्य स्वामी श्री राम गिरिजी महाराज यस अखडाको पीठाधीश भएको कुरा तत्कालिन अभिलेखबाट स्पष्ट हुन्छ । त्यस पछि स्वामी श्री अर्जुन गिरिजी महाराज पीठाधीश हुनुभयो र उहाँ पनि ब्रह्मलीन भएपछि यस सरस्वती अखडाको चौथो पीठाधीश्वरको रूपमा श्रोत्रिय ब्रह्मनिष्ठ श्री १०८ स्वामी ईश्वरानन्द गिरिजी महाराज आसीन हुनुभएको थियो ।
मानवीय जीवनको मूल्य, मान्यता, कर्तव्य तथा शास्त्रीय शिष्टव्यवहार नैतिकता आध्यात्मिक चेतना, राष्ट्र राष्ट्रियताको पहिचान जस्ता गुम्न लागेका गरिमामय गुणको संरक्षण संवर्धन गर्दै विश्वप्रसिद्ध ग्रन्थ श्रीमद्भगवद्-गीताद्वारा प्रतिपादित कर्मयोग, भक्तियोग र ज्ञानयोगको प्रचारप्रसार गर्ने पवित्र उद्देश्यका साथ श्री स्वामी ईश्वरानन्द गिरिजीले वि.सं. २००८ सालमा गीताज्ञान महायज्ञ सम्पन्न गरेर वि.सं. २००८ सालमा नै गीता अध्ययन मण्डल गठन गरी २०३२ सालमा काञ्चिकामकोटीका शङ्कराचार्य अनन्तश्रीविभूषित जयेन्द्र सरस्वतीको विशेष उपस्थितिमा तत्कालिन राष्ट्रप्रमुख राजा श्री ५ विरेन्द्रद्वारा गीतामन्दिरको उद्घाटन एवं सन्त परम्पराअनुसार नेपालको प्रथम महामण्डलेश्वर श्री १०८ स्वामी ईश्वरानन्द गिरिजी महाराजको पट्टाभिषेक सम्पन्न भएको थियो ।
त्यसपछि स्वामीजी महाराजले वीरगञ्जमा गीता-भवन, धरानमा गीता-सदन र पोखरामा गीता-मन्दिर स्थापना गरी आयुर्वैदिक औषधी निर्माण एवं वितरण, पुस्तक प्रकाशनजस्ता कार्यक्रममार्फत् समाजमा सामाजिक,धार्मिक एवं आध्यात्मिक पुनर्जागरण गराइरहेकै अवस्थामा स्वामी ईश्वरानन्द गिरिजी महाराज ब्रह्मलीन भएपछि अवरूद्ध भएका उपर्युक्त महत्त्पूर्ण कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ नवनियुक्त यस अखडाका पाँचौं पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा गठित गीता अध्ययन मण्डलद्वारा नेपालमा श्रीमद्भगवद्-गीताको प्रचार-प्रसार गर्ने निश्चय गरिएको छ ।